समाचार
राजाको दरबार हेर्न सतौ चण्डीथान
परिचय
स्याङ्जाको पुतलीवजार नगरपालिका १४ संतौमा चण्डीथान मन्दिर रहेको छ । यो ठाउँलाई बाइसेचौबीसे राज्य रहेका बेला पश्चिमका चौबीसे राज्यहरूमध्येकै सबैभन्दा शक्तिशाली राज्यका रूपमा समेत लिने गरिन्छ । रमणीय ठाउँमा रहेको यस मन्दिरबाट स्याङ्जालगायत विभिन्न ठाउँ र मनोरम हिमाली दृष्यहरू देख्न सकिन्छ । पृथ्वीनारायण शाहका सेनापति केयरसिंह बस्नेत मारिएको स्थल यही भएको किंवदन्ती छ । परापूर्व कालमा प्रत्येक राज्यलेआफ्नी ईष्टदेबीका रुपमा कालिका कोट निर्माण गर्ने परम्परा थियो । यहि परम्परा अनुसार सतौ चण्डीथानको मन्दिरको स्थापना गरिएको हो । सतौंकोटे राजाको इष्टदेवीका रुपमा पुजिने यस थानमा रहेको चण्डी र कालिका गरी दुई वटा मन्दिरहरु रहेका छन् जुन मन्दिर झण्डै छ सय वर्ष पुरानो रहेको मानिन्छ ।
बिशेषता
मन्दिरको केही माथि सतौंकोटे राजाले बनाएको दरबार छ । जसलाई कोट भनिन्छ । पहिलेका बाईसे चौबीसे राज्यका राजाहरूले आ–आफ्ना राज्यमा सुख र समृद्धिका लागि देवी देवताको आराधना गर्ने चलन थियो । त्यही चलनअनुसार सतौंकोटे राजाहरूले मन्दिर स्थापना गरी सतौं चण्डी नामंकरण गरेका हुन सक्छन् । चण्डी रहेको ठाउँलाई चण्डीस्थान भन्ने गरिएको हो ।
सतौं चण्डीको भाकल पूजा आराधना गर्नाले दुर्घटनाबाट जोगिने, सुख शान्ति र समृद्धि हुने विश्वास गरिन्छ । यसैले यस मन्दिरमा पूजा वा दर्शन गर्नका लागि यस जिल्ला लगायत कास्की, पाल्पा, तनहुँ, पर्वत, बाग्लुङ, रुपन्देही, काठमाडौं लगायत स्थानबाट समेत दर्शनका लागि भक्तजनहरु आउने गर्दछन् । महाशिवरात्री, बालाचतुदशी, दशैंको अष्टमी पर्वहरूमा मेला लाग्छ । बाजागाजासहित संघ संस्था वा व्यक्तिले पनि पञ्चबली –राँगा, हाँस, पाठा, भाले, परेबा, सुगुर) दिने चलन छ ।
कसरी पुग्ने ?
स्याङ्जाबाट बजारबाट करिब ११ कि.मी टाढा रहेको यस मन्दिरमा पुग्नका लागि पक्की बाटो रहेको छ । स्याङ्जाबाट करीब डेढ घण्टा पैदल हिंडेर वा २० मिनेटको सवारी साधनको यात्रापछि पुग्न सकिन्छ ।
सम्पर्क
जितेन्द्र प्रकाश मल्ल ९८४६०४३५००