FAQs Complain Problems

समाचार

कुहिरोको समुद्र हेर्न हुनिकोट

 

परिचय

स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित हुनिकोट पर्यटकका लागि सुन्दर र मनमोहक छ । समुद्री सतहदेखि एक हजार १२० मिटरको उचाइमा रहेको हुनिकोटमा गुरुङ समुदायको बाहुल्यता छ ।

बिशेषता

थोरै समयमा नै हुनिकोटले पर्यटकीय क्षेत्रका रूपमा यसले चर्चा बटुलेको छ । पर्यटकहरु यहाँ घुम्न आउँदा गुरुङ संस्कृतिमा रमाउन पाउँछन् । पर्यटकका लागि स्थानीयवासीले हुनिकोट सामुदायिक इको होमस्टे सञ्चालन गरेका छन् । गुरुङ समुदायका विभिन्न परिकारको स्वाद चाख्न पाइन्छ । अनि रोधी र सालैजोमा कम्मर मर्काउन पाइन्छ । स्थानीय स्तरमा उत्पादित खानेकुराहरु लोकल कुखुरा, लोकल ढिडो, मकैको ढिडो, भुटेको मकै लगायतका खानेकुराको स्वाद यहाँ लिन सकिन्छ । होमस्टेमा रमाउन पुग्नेहरूका लागि सस्तोमा ‘प्याकेज’ सेवा उपलब्ध गराइएको छ । यो सेवा एक रातका लागि प्रतिव्यक्ति आठ सयदेखि एक हजार रुपियाँसम्म पर्छ । यसमा दिउँसोको खाजा, चिया, बेलुकीको खाना र बिहानको खाजा उपलब्ध हुन्छ । बाह्यभन्दा पनि आन्तरिक पर्यटकको भीडभाड हुने यस स्थानमा स्याङ्जासहित कास्की, पर्वत, पाल्पालगायतका जिल्लाबाट दैनिक एक सयदेखि १५० जनासम्म पर्यटक पुग्ने गरेका छन् । यस स्थानमा रहेको ‘भ्यु पोइन्ट’बाट देखिने स्याङ्जा बजार, आँधिखोला नदी र हिमालसहितका दृश्यले सबैको मन लोभ्याउँछ । कालिका देवी मन्दिर, शिव गुफा, कुहिरोको समुद्र (ह्वाइट लेक) को दृश्यावलोकनले सबैलाई मोहित बनाउँछ ।

कसरी पुग्ने ?  

स्याङ्जा सदरमुकामबाट साढे दुई किलोमिटरको दूरीमा रहेको हुनीकोट पुग्नका लागि निजी सवारी साधनको प्रयोग गर्न सकिन्छ । भाडाका जीपहरु पनि पाइन्छ । हाईकिङ गर्दै पनि उकालो चढ्न सकिन्छ ।

सम्पर्क

जमान गुरुङ ९८४६६२५३४४