समाचार
पर्यटकका लागि कोल्मामा इको होमस्टे
परिचय
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ९ मा पर्ने पर्यटकीय कोल्मा पछिल्लो समय स्थानीय पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । यो पर्यटकीय ठाउँ समुन्द्र सतहदेखि करिब १४ सय मिटरको उचाईमा रहेको छ । तनहुँको सीमानाबाट समेत नजिकै रहेको कोल्मामा पछिल्लो समय आन्तरिक र वाह्य पर्यटकको लागि आकर्षण गर्नका लागि स्थानीयहरु लागेका छन् । गुरुङ, मगर, ब्राह्मण र क्षेत्री समुदायको बाहुल्यता रहेको कोल्मामा परम्परागत शैलीका घर, गाउँको प्राकृतिक सुन्दरता, अर्गानिक खाना, टिपिकल होमस्टे पर्यटकका मुख्य आकर्षणका केन्द्रबिन्दुका रूपमा रहेका छन् ।
बिशेषता
नजिकै रहेको कोल्माकोट मन्दिरबाट माछापुच्छ्रे, धौलागिरि लगायत आधा दर्जन हिमालहरूको दृश्यावलोकन गर्दै अर्गानिक खानाका साथमा परम्परागत शैलीका घरमा बसेर नाच र नृत्यमा रमाउँदा जो कोही पर्यटक पनि मोहित हुने गर्दछन् । यहाँका होमस्टेमा अन्य स्थानमा भन्दा केहि फरक गरेर पर्यटकलाई आकर्षण गर्न खोजिएको छ । हालसम्म ७ वटा घरमा सञ्चालन गरिएको होमस्टेलाई इको होमस्टेको अवधारणा अगाडि वढाईएको छ ।
यहाँका होमस्टेमा पर्यटकका लागि लोकल खानेकुराको मेनु, करेसाबारी हुनुपर्ने, करेसाबारीमा प्राङगारिक मलको प्रयोग गर्नुपर्ने र स्थानीय जडिबुटी उत्पादनका लागि पनि छुट्टै सानो वगैचा समेत निर्माण गरिएको छ । गुरुङ सुमदायमा लोकप्रिय घाटुनाच, गुरुङ सालैजो, झोरा सोरठी, मगर समुदायको मादल नाँच र ब्राह्मण समुदायको चुड्का भजनमा झुम्नका लागि पर्यटकहरू अझ उत्साहित हुने गर्दछन् । कोल्मामा कोल्मा बराहचौर मा.वि. रहेको छ । यहाँ रहेको ठूलो खेल मैदानले नगरको खेल पर्यटनमै समेत टेवा पुर्याएको छ ।
प्याकेज
यहाँ पुग्ने पर्यटकलाई स्थानीयद्धारा स्वागत गरिन्छ । स्वागत पश्चात खाजाको व्यवस्था गरिएको हुन्छ । बेलुका लोकल कुखुराको मासु र ढिडो सेटको स्वाद चाख्न पाइन्छ । स्वाद र आवश्यकता अनुसार लोकल रक्सी समेत व्यवस्था गरिएको हुन्छ । भोलीपल्ट बिहानको खाजा र खानाको समेत प्याकेजमा समावेश गरिएको छ । उल्लेखित प्याकेजका लागि १५ सय रुपैयाँ तोकिएको छ ।
कसरी पुग्ने ?
स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिकाबाट करिब ९ किलोमिटरमा कोल्मा पुग्न सकिन्छ, भने तनहुँको दुलेगौडाबाट करिब २२ किलोमिटरमा पनि कोल्मा पुगिन्छ । कोल्मा पुग्नका लागि ग्राभेल गरिएको सडक गरिएको छ त्यहाँ पुग्नका लागि भाडाको जीपहरू प्रयोग गर्न सकिन्छ । आफ्नै सवारी साधनमा पुग्नका लागि पनि बाटो सहज छ ।
सम्पर्क
लिल प्रसाद गुरुङ ९८४६११८५०६