समाचार
श्री १००८ चम्फा गिरि सन्यास आश्रम
परिचय
पवित्र कालाभैरव क्षेत्रबाट शुरूहुने, गुरू गोरखनाथको कमन्डलुको पानी पोखिएर उत्पत्ती भएको किम्वदन्ती भएको गुरू खोला (गुडी खोला)को तटमा रहेको, पवित्र नदि आँधीखोलाको किनारमा रहेको तथा सिद्दार्थ राजमार्गसंगै जोडिएको यस श्री श्री १००८ चम्पागिरी सन्यास आश्रम यस क्षेत्रको पवित्र र प्रशिद्द धार्मिक स्थल हो । यो क्षेत्र पुतलीबजार नगरपालिका वडा नं ४ स्याङ्जा जिल्लामा अवस्थित रहेको छ ।
वि.स. १८०७ मा गुरू महाराज श्री श्री १०८ रमण गिरीले यस आश्रमको स्थापना गर्नु भएको हो । यस आश्रममा श्री श्री १०८ धिर्जा गिरी, श्री श्री १००८ चम्पागिरी महाराज हुदै हाल श्री सिता गिरी यस आश्रमको प्रमुख महन्त हुनुहुन्छ । परापूर्वकाल देखि नै भारत तथा नेपालका विभिन्न स्थानबाट मुक्तीनाथ दर्शन गर्न आउने तिर्थयात्रीहरूको प्रमुख विश्रामस्थलका रूपमा यो क्षेत्र रहेको थियो । मुक्तीनाथ सदावर्त गुठीको समेत ब्यवस्था भएको पाटी पौवाहरू रहेका थिए । यो परम्पराको निरन्तरता यस आश्रमले दिएको छ । दक्षिण भारत, युपि, विहार, राजस्थान, जम्मुकश्मिर लगायत भारतका विभिन्न प्रान्तहरूबाट सयौ साधु, सन्त, महन्तहरू मुक्तिनाथ दर्शन गर्न जाँदा र फर्कदा यस आश्रममा बास बसेर जाने आउने गर्दछन ।
बिशेषता
यस आश्रम परिसरमा प्राचिन धनेश्वर शिव मन्दिर, राधाकृण्ण मन्दिर र विभिन्न साधु, महन्तहरूका ४० वटा समाधीहरू रहेका छन । शिवका पर्वहरू महाशिवरात्री, सोमवार, साउन महिनामा विशेष पुजा अर्चना हुने गर्दछ । यस अवधिमा ठुलो संख्यामा दर्शनार्थी र तिर्थालुहरूको विशेष पुजाआजाका लागि आउने गर्दछन । राधाकृण्णको मन्दिर समेत भएकोले शुभ विवहाका लागि समेत यहाँ नेपालका विभिन्न जिल्लाबाट आउने गर्दछन । यहाँ विवहा गरेमा वैवाहिक जीवन सफल हुने विश्वास रहेको छ । विवहाका मुहुर्तहरूमा विवहाका लागि धेरै आउने हुनाले अग्रिम जानकारी गर्नु पर्ने हुन्छ । हजारौ शुभ विवहाहरू यहाँ सम्पन्न भएका छन । साधु, महन्त, प्रसिद्द सिद्द पुरूषहरूको समाधिस्थल भएकाले नेपाल र भारतका साधु सन्त, महन्तहरू यस क्षेत्रमा विशेष रूपमा यहाँ ध्यान गर्न, दर्शन गर्नका लागि आउने गर्दछन ।
कसरी पुग्ने ?
पोखराबाट सिद्दार्थ राजमार्ग बुटवल तर्फ ३१ कि.मि. मा पर्दछ । स्याङ्जा जिल्ला सदरमुकाम स्याङ्जा बजार देखि पोखरा तर्फ ४ कि.मि गुरूखोला (गुडीखोला) संगै सिद्दार्थ राजमार्गको छेवैमा यसको प्रवेश द्वार देख्न सकिन्छ । सिद्दार्थ राजमार्गसंगै जोडिएकाले सहजताका साथ यस आश्रममा पुग्न सकिन्छ ।
सम्पर्कका लागि
श्री सिता गिरी ९८४६१६९६६४