समाचार
मागेको पुग्ने बहाकोट कालिका
परिचय
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं ८ मा बहाकोट कालिका मन्दिर रहेको छ । बहाकोट कालिका जिल्लाकै प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ । यहाँको मन्दिरको भवन २०४७ सालमा निर्माण गरिएको भएतापनि यो मन्दिर धेरै पुरानो रहेको विश्वास गरिन्छ ।
विशेषता
परापुर्व समयमा २२ से, २४ से राजाका पालामा राजाहरु लडाई गर्न सहज हुने र अग्लो स्थानबाट सबै नियाल्न सकिने हुँदा विशेषगरी अग्लो स्थानमा बस्दथे । त्यसै बेलामा बसोबास गर्ने राजाका छोरा शिकार खेल्न गएको बेलामा तत्कालीन राजकुमारले बाघ र बाघिनीको शिकार गरेको र भोलीपल्ट सोही स्थानमा दुइ कन्या (कण्ठावती र कुश्मावती) उत्पन्न भई उनीहरु त्यहि अलप भएको र सोही स्थानमा पुजाआजा गर्दै आएको किम्वदन्ती रहेको मन्दिरमा पुजारी प. धर्मराज मरासिनीको भनाइ छ । यसरी राजकुमारले शिकार खेलेर बाघ र बघिनी मारेकोले यस ठाउँको नाम नै बहाकोट राखिएको किम्वदन्ती पाइन्छ ।
बहाकोट कालिकामा विशेषतः दशैंको नवदुर्गामा विशेष मेला लाग्दछ । मन्दिरमा केहि पुराना हतियार सहित महाकालीको मूर्ती राखिएको छ । मन्दिरमा बिशेषतः कण्ठावती, कुश्मावती, महाकाली र नवर्दुर्गाको पुजा हुन्छ । बिशेषतः वडा दशैं र चैते दशैंमा भक्कल गरेका भक्तजनहरुले यस मन्दिरमा बली दिने परम्परा छ । दशैंको नवदुर्गाको ९ दिन मध्ये अष्टमी, नवमीको दिनलाई बिशेष मानिन्छ । मन्दिर व्यवस्था समितिको नियम र विगतमा चलिआएको परम्परा अनुसार राँगो र बोकाको बली दिने गरिन्छ । यस मन्दिरको भाकल गरेर पुजा गरेमा आफूले मनले चिताएको जुनसुकै कुरा पुरा हुने विश्वास समेत गरिन्छ ।
कसरी पुग्ने ?
स्याङ्जाको सदरमुकाम स्याङ्जा बजारबाट करिब १ घण्टाको दुरीमा पर्ने बहाकोट मन्दिरमा पुतलीबजार न.पा. ९ बहाकोटमा पर्दछ । आफ्नो सवारीमा जानका लागि बाटो राम्रो छ । भाडाको जीपको लागि भने केहि समय कुर्नुपर्ने हुन्छ ।
सम्पर्क
अर्जुन राना ९८४९३६८०६३