FAQs Complain Problems

पुतलीबजार नगरपालिकाको संक्षिप्त परिचय

पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो | २०५३ सालमा, साविकका  स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा  गाउँ विकास समितिहरु मिलेर यस नगरपालिकाको स्थापना भएको हो | नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम  राज्यको पुन संरचनमा यस  पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहकोट, कोल्मा, राङ्भाङ्(१-३ र ९) र पेल्काचौर (१,२,४-८) गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ |

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गण्डकी प्रदेश अन्तरगत पर्ने स्याङ्गजा जिल्ला एक पहाडी जिल्ला हो । यस जिल्लाको प्रसिद्द खोला आंधीखोलाको काखमा पुतलीबजार नगरपालिका रहेको छ ।अविरल रुपमा बगिरहने पौराणिक महत्व बोकेको आँधिखोलाको साथै बाडखोला, अरौदीखोला, राङ्गखोला, पिउरिखोला, सुरौदिखोला, दरौखोला, बैदिखोला, बैदिखोला जस्ता खोलाहरुले पुतलीबजार नगरपालिकाको शोभा बढाईरहेका छन् । यो नगरपालिका गण्डकी प्रदेश को राजधानी पोखरा देखि १ घन्टाको दुरीमा रहेको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि  लुम्बिनी प्रदेशको सुनौलीसम्म जोड्ने सिद्धार्थ राजमार्गको पोखरा वालिङ खण्डको भालुपहाडबाट ( पोखरा देखि २३ कि.मीको दुरीमा ) सुरु भई हेलुसम्म रहेको यो नगरपालिकाले सिद्दार्थ राजमार्गको २७ कि.मी दुरी ओगटेको छ । पोखरा देखि ३४ कि.मि दुरीमा रहेको स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारको प्रगतिनगरमा पुतलीबजार नगरपालिकाको कार्यालय रहेको छ ।  प्रसिद्द चण्डीस्थान मन्दीर, गुडीखोला मन्दिर, कैलाश गुफा, हुनिकोट गुफा, खर्सुलेख, नुवाकोट, भालुपहाड आदि जस्ता धार्मिक तथा पर्यटकीय स्थल रहेको यस नगरपालिका सांस्कृतिक तथा पर्यटकीय हिसाबले जिल्लाकै महत्वपूर्ण नगरपालिकाको रुपमा चिनिन्छ ।

भौगोलिक अवस्थिति :   

पुर्व : कास्की जिल्ल्ला र तनहुँ जिल्ला                        

पश्चिम : आँधीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका र भिरकोट नगरपालिका

 उत्तर : कास्की जिल्ला र फेदीखोला गाउँपालिका       

दक्षिण : विरुवा गाउँपालिका र भिरकोट नगरपालिका

जनसंख्या               

राष्ट्रिय जनगणना २०७८ अनिसार पुतलीबजार नगरपालिकामा ११८८१ घर धुरीमा ४१,७४३ जनाको बसोबास रहेको छ भने नगरपालिकाको जनघनत्व २८४ र साक्षरता ८२.८ % रहेको छ ।

क्षेत्रफल         

नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकाको कुल क्क्षेत्रफल १४७.१९ वर्ग कि मिटर रहेको छ |